चौरहा टिमको हेडट्रिक फेरिपनी


पोखरा - कुनै पनि स्थितिमा लगातार उपाधि जित्नु सजिलो हुँदैन । खेलकुदमा कसैले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्छ भने त्यो अद्वितीय मानिन्छ । धनगढीमा यस्तै उपलब्धि हात पार्ने काम गर्‍यो, टिम चौराहा धनगढीले । उसले धनगढी प्रिमियर लिग (डीपीएल) को अहिलेको दुई संस्करण र यसअघिको धनगढी प्रिमियर लिगको उपाधि लगातार जितेको हो । यसपटक पनि डीपीएल–टुमाथि उसको कब्जा शानदार रह्यो । फाइनलमा चौराहाले काठमाडौं गोल्डेन्सलाई २१ रनले हराएको थियो । 

फाइनलमा यी दुई टिमको भेट स्वभाविक थियो । लिग चरणको समाप्तीमा यिनै दुई टिम शीर्ष स्थानमा थिए । काठमाडौं गोल्डेन्स ९ अंकसहित शीर्ष स्थानमा थियो भने टिम चौराहा दोस्रो स्थानमा थियो । उक्त चरणमा काठमाडौं गोल्डेन्सले कुनै पनि खेल गुमाएन, टिम चौराहाले गुमाएका दुई खेलमध्ये एक काठमाडौं गोल्डेन्सविरुद्ध नै थियो । पछि क्वालिफायर–१ मा टिम चौराहा काठमाडौं गोल्डेन्सलाई हराएर फाइनलमा पुगेको थियो । प्रतियोगितामा लयमा देखिएको काठमाडौं गोल्डेन्सले फाइनलसम्म पुग्न महेन्द्रनगर युनाइटेडलाई हराएको थियो । फाइनलमा टिम चौराहाले पहिले ब्याटिङ गर्दै ४ विकेटमा १ सय ८१ रन बनाएको थियो । जवाफमा काठमाडौं गोल्डेन्सले ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । फाइनलमा टिम चौराहालाई जित दिलाउन रोहन मुस्तफाले सर्वाधिक महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनी म्यान अफ म्याच पनि घोषित भए । धनगढीमा टिम चौराहाको यो जित खास–खास कारणले महत्त्वपूर्ण रह्यो । टिम चौराहाको सफलतामा सबैभन्दा ठूलो हात मुस्तफाकै थियो । उनले १ सय ९८ रन बनाए अनि ९ विकेट पनि लिए । त्यसैले उनी म्यान अफ सिरिज समेत भए । उनले कप्तान सोमपाललाई धेरै अवसरमा नेतृत्वको गुण पनि सिकाए । एक त यो प्रतियोगिताको आयोजक सहरको आफ्नै टिम थियो । त्यसैले उसको समर्थनमा ठूलो संख्यामा मैदानमा पुगेका दर्शकले निराश हुनु परेन । दोस्रो, टिम चौराहाले सोमपाल कामीको कप्तानीमा खेलेको थियो । अरु टिमका कप्तानको तुलनामा उनी ‘नेतृत्वका दृष्ट्रिले’ नयाँ थिए । धेरैले यही कारणले टिम चौराहाले उपाधि जित्दैन कि भन्ने शंका गरेका थिए । सोमपाल यो परीक्षामा उत्तीर्ण भए । यसपटकको प्रतियोगिता टिम चौराहाका प्रशिक्षक शेरबहादुर लामाका लागि पनि विशेष रह्यो । लामा वान डे खेल्ने नेपाली मूलका पहिलो खेलाडी हुन् । उनले यो अवसर हङकङबाट खेलेर प्राप्त गरेका थिए । खेल्न छाडेयता उनी प्रशिक्षणमा ब्यस्त छन् । लामाले नेपाली भूमिमा भएको यति ठूलो प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेको भने यो पहिलो अवसर हो । लामा आफ्नो यो पहिलो प्रयासमै सफल भए । धनगढीलाई यो सफलता दिलाउन तीव्र गतिका बलर ललितसिंह भण्डारीको पनि उत्तिकै महत्वपूर्ण योगदान रह्यो । भण्डारी १४ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक सफल बलर सावित भए । यस्तै सुनिल धमलाले २ सय २९ रनको योगदान दिए । 

दुर्भाग्य काठमाडौंको

लिग चरणमा कुनै पनि खेल नगुमाई राम्रो खेल्ने एक मात्र टिम काठमाडौं गोल्डेन्स थियो । फाइनलमा पनि यही टिम जितको बढी हकदार देखिन्थ्यो । अन्त्यमा उसले त्यस्तो पटकथा लेख्न सकेन ।  दोस्रो स्थानमा चित्त बुझाए पनि काठमाडौं गोल्डेन्सका लागि डीपीएल–टु सम्झन लायक रह्यो, विशेषत: टिमका कप्तान ज्ञानेन्द्र मल्लका लागि । धनगढीमा उनी सफल भए । ज्ञनेन्द्र विश्वकप छनौट तथा आईसीसी डिभिजन–टुमा नराम्रोसँग चुकेका थिए । उनलाई नेपाली राष्ट्रिय टिमबाट हटाउनु पर्ने मागसमेत उठेको थियो । ज्ञानेन्द्रका लागि यो स्थितिबाट बाहिर निस्कने एउटै उपाय थियो, डीपीएल–टुमा राम्रो गर्ने । ज्ञानेन्द्र प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान सावित भए । उनले ७ इनिङ्समा २ सय ४८ रन बनाए । उनको औसत रह्यो– ४१ दशमलव ३३ ।  यस अर्थमा डीपीएल–टु ज्ञानेन्द्रका लागि कमब्याक गर्ने राम्रो अवसर सावित भयो । प्रतियोगितामा सर्वाधिक निराशाजनक प्रदर्शन गर्ने टिम विराटनगर किङ्स रह्यो । खेलाडी लिलामीमा भएभरका सबै राम्रा खेलाडी उसकै भागमा परेका थिए । विराटनगरसँग राष्ट्रिय टिमका कप्तान पारस खड्का स्वयं थिए । धेरैलाई लागेको थियो, उपाधि यही टिमले जित्नेछ, तर लिग चरणको समाप्तीमा यो टिम शीर्ष चारमा पनि अटाउन सकेन, लिग चरणबाटै बाहिरियो । यसका पछाडि धेरै कारण छन् । वर्षाले पनि विराटनगरलाई साथ दिएन, पारस आफैं पनि पूर्णत: फिट थिएनन् । उनको हातमा चोट लागेको थियो । यस्तै स्थिति रूपन्देही च्यालेञ्जर्सको पनि रह्यो । लिग चरणको समाप्तीमा रूपन्देही अन्तिम स्थानमा पुग्यो । बरु दुई स्थानीय टिम महेन्द्रनगर युनाइटेड तथा सीवाईसी अत्तरियाले शीर्ष चारमा स्थान बनाए । शीर्ष चारमा तीन स्थानीय टिम रहनु प्रतियोगिताको अर्को महत्त्वपूर्ण पक्ष थियो । काठमाडौं गोल्डेन्सका अमित श्रेष्ठका लागि पनि यो प्रतियोगिता सुखद रह्यो । श्रेष्ठ ज्ञानेन्द्रपछि सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान हुन् । उनको ब्याटबाट यसपटक २ सय ४२ रन निस्कियो । यसमा उनले बनाएको ८१ नटआउट रन पनि पर्छ । अमितले पूरा इनिङ्समा ‘ब्याट क्यारी’ गरे र यो नै प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोर थियो । प्रारम्भिक ब्याट्सम्यानका रूपमा अमितको यही प्रदर्शनका कारण काठमाडौं गोल्डेन्स राम्रो स्थितिमा रहेको हो । 

विदेशी खेलाडीको प्रभाव

डीपीएल–टुको अर्को ठूलो विशेषता रह्यो, विदेशी खेलाडीको प्रभाव । यसका स्पष्ट दुई प्रभाव रहे । पहिलो, माथिल्लो दर्जाका विदेशी खेलाडीसँग खेल्न पाउँदा नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाए । नेपाली क्रिकेटको स्तर माथि उकास्न यस्तै मौका चाहिन्छ । अझ सम्झिनु पर्ने कुरा के छ भने नेपालमा आएका जति पनि विदेशी खेलाडी छन्, ती सबै अन्तर्राष्ट्रिय स्तरमा धेरै ठूला होइनन् । अर्कातर्फ के पनि निश्चित भएको छ भने तिनै विदेशी खेलाडीसँग तुलना गर्दा नेपाली खेलाडीहरूले सिक्नु पर्ने कुरा अझै धेरै छ । राष्ट्रिय टिमका खास–खास खेलाडीलाई छाडेर अरुको स्तर पनि धेरै माथि उस्कन सकेको छैन । त्यसैले नेपाली खेलाडीले अझै प्रशस्त मेहनत गर्नुपर्ने हुन्छ । यसपटक विराटनगरका केही खेलाडी मात्र चम्किए, त्यसमा हङकङका बाबर हयात अगाडि रहे । उनले १ सय ८६ रन बनाए । बलिङतर्फ सर्वाधिक सफल भए काठमाडौं गोल्डेन्सका भारतीय खेलाडी सन्नी पटेल । नेपाली ब्याट्म्यानले कतिपय अवसरमा उनको बलिङ झेल्नै सकेनन् । सन्नीले कुल १३ विकेट लिए र सर्वाधिक विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा रहे ।


No comments