‘झूटो बोल्न राम्रो लाग्दैन,’ - राजेशपायल राई - SK Media

‘झूटो बोल्न राम्रो लाग्दैन,’ - राजेशपायल राई


पोखरा  — गायक राजेशपायल राईलाई ‘अधुरो र अपुरो कुनै काम मन पर्दैन’ । गीतसंगीत सिर्जनामा उनी अन्तिम रूप नदिँदासम्म लागिपर्छन्। किताबको सन्दर्भमा उनलाई यसैको डर लाग्छ– समय नपुगेर पठन अधुरै रहयो भने के गर्ने? उनले समय र चाहना मिलाउन नसक्दा अहिलेसम्म कुनै पनि पुस्तक नपढेको बताए। धेरै सेलिब्रिटी आफूलाई अब्बल देखाउन पढ्दै नपढेको पुस्तकलाई पढेको भनेर अन्तर्वार्ताहरूमा भन्ने गर्छन्। उनीहरू किताबको नाम चाहिँ लिन्छन् तर त्यसको विषयका मामिलामा चुक्छन्, अकमकिन्छन्। राजेश यस्तो विषयमा प्रस्ट छन्। ‘झूटो बोल्न राम्रो लाग्दैन,’ उनले भने, ‘किताब पढ्नुहुन्छ भन्ने प्रश्न नै मेरो लागि होइन कि जस्तो लाग्छ।’ कुनै साहित्यकारका केही चर्चित कृतिको नाम सुन्नुभएको छ कि? यो जिज्ञासामा उनले रमाइलो जवाफ दिए। ‘देवकोटा सर (लक्ष्मीप्रसाद देवकोटा) को ‘कुन मन्दिरमा जान्छौ यात्री...’ गीत सम्झेको छु,’ उनले हाँस्दै भने, ‘अनि (सिद्धिचरण श्रेष्ठको) ‘मेरो प्यारो ओखलढुंगा’ पढेको छु।’ किताब पढेपछि पूरै समय लगाउनुपर्छ र विषयवस्तुको गहिराइमा डुब्नुपर्छ भन्ने उनको मान्यता छ। ‘अपूरो र अधुरो किताब छोड्न मन नभएकाले म किताबलाई रोजाइमै राख्दिनँ,’ उनले सुनाए। त्यस्तै, किताबलाई समय कम दिनेमा अभिनेत्रीहरू वर्षा राउत र पूजा शर्मा पनि हुन्। उनीहरूलाई किताबका पानाभन्दा फिल्मका दृश्य बढी हेर्न मन पर्छ। सानैदेखि फिल्म हेर्न रुचाउने पूजा फिल्मबाट छोटो समयमै धेरै कुरा जानकारी लिएको महसुस गर्छिन्। उनको विचारमा फिल्म पनि जीवनजगत्बारे एक प्रकारको किताब नै हो। यसले समाज बुझ्न सिकाउँछ। किताबको माध्यमबाट यस्तो बुझ्न उनलाई निकै गाह्रो लाग्छ। ‘स्कुलमा केही साहित्यकारका किताब त पढेकी थिएँ। तर नाम याद छैन,’ उनले थपिन्, ‘रुचि नभएर होला।’ वर्षाको पुस्तक सम्बन्ध लगभग शून्य छ। सुटिङमा व्यस्त नहुँदा पनि उनी फिल्म नै हेर्न रुचाउँछिन्। उनको विचारमा फिल्म दृश्यपुस्तक हो। ‘किताब पढ्न बोरिङ लाग्छ,’ उनले भनिन्, ‘फिल्म हेर्दा दिन बितेको पत्तै पाउँदिनँ।’ तर, रुचि नहुँदानहुँदै पनि उनले पारिजातबारे चाहिँ साथीहरूबाट सुनेकी छन् रे। गायक प्रमोद खरेल फुर्सदमा किताब पढ्छन्। विभिन्न सांगीतिक कार्यक्रममा जाँदा यात्रामा उनले किताबका लागि छुट्टयाएका हुन्छन्। हवाईजहाजमा बस्दा र होटलमा आराम गर्दा जति सक्दो साहित्यिक पुस्तक पढ्नु उनको रुचिको विषय हो। बुद्धिसागरको ‘कर्णाली ब्लुज’, अमर न्यौपानेको ‘सेतो धर्ती’ र , सुधीर शर्माको ‘प्रयोगशाला’ राम्रोसँग खारेको उनले बताए । उनका अनुसार, अहिले यज्ञश लिखित ‘भुइयाँ’ का पाना पल्टाउँदै छन्।

No comments