प्रत्येक वर्ष साहित्य, संगीत र पत्रकारिताको माध्यमबाट समाजलाई उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरिँदै - SK Media

प्रत्येक वर्ष साहित्य, संगीत र पत्रकारिताको माध्यमबाट समाजलाई उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरिँदै

पोखरा बगरमा  रहेको सावित्री गोपाल स्मृति ट्रष्टले ४ जना स्रष्टालाई सम्मान तथा नगद २० /२०  हजार पुरस्कार प्रदान गरेको छ। साहित्यतर्फ कवि कुन्ता शर्मा, संगीत तथा गायनमा आनन्द कार्की, पत्रकारितातर्फ कान्तिपुरकर्मी वेदराज पौडेल र उपन्यासकार डिआर उपाध्यायलाई सम्मान तथा पुरस्कार दिइएको हो । सम्मान तथा पुरस्कार भाषाविद् प्रा.डा. टंक न्यौपानेले वितरण गरेका थिए । गीतकार तथा ट्रष्टका अध्यक्ष रोशन भट्टराईले आफ्ना मातापिताको नाममा स्थापित सावित्री गोपाल स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष साहित्य, संगीत र पत्रकारिताको माध्यमबाट समाजलाई उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरिँदै आएको छ । यस वर्ष पाँचौ श्रृंखलाका लागि छनौट समितिले गरेको छनौटका आधारमा चार ब्यक्तिलाई सम्मान गरिएको उनले बताए । कार्यक्रममा पूर्वसभासद रेवतीरमण भण्डारीले इनरुवामा रहेको प्रतिष्ठानले साहित्यको क्षेत्रमा गरिररहेको योगदानको चर्चा गर्दै सम्मानित हुनेहरु समाजका निखारिएका ब्यक्तित्व भएको टिप्पणी गरे । सम्मानित कवि कुन्ता शर्माले पहिले आफू सहभागीका रुपमा भाग लिँदै आएको तर यस पटक सम्मानित हुन पाउँदा खुसी लागेको बताइन् ।इनरुवाका मेयर राजन मेहताले प्रतिष्ठानलाई वार्षिक एक लाख अक्षयकोष स्थापना गर्न दिने घोषणा गरे । कार्यक्रममा इनरुवाकी उपमेयर तथा कवि जमुना पोखरेल, कालिका तिम्सिना, टीका आत्रेय, विवश पोखरेल, बम देवानले आफ्नो रचना वाचन गरेका थिए ।

No comments